
जनकपुरधाम, २५ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वडास्तरीय अधिवेशन थालेको छ । बैशाख २६ मा पार्टीको राष्ट्रिय महाधिवेशन हुने भएपछि वडास्तरीय अधिवेशन थालेको बताइएको छ ।
सोहीक्रममा आइतबार धनुषाको हंसपुर नगरपालिका ४ मधुकरही टोलमा रहेको भोलाबाबा मन्दिरको प्राङ्गनमा पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
नवनिर्वाचित वडाकमिटी अध्यक्ष गणेश यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं प्रदेश समितिका उपाध्यक्ष पूर्व मेयर रामज्ञान मण्डलको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको नगरसचिव विजय झाले बताए ।
वडाअधिवेशनलाई सम्बोधन गर्दै पूर्वमेयर मण्डलले भने, ‘हामीले सधैं अरुलाई नै सहयोग गर्यौ, जसकारण आज हामी पछाडि छौं, अब हामी अघि बढ्नु पर्छ ।’ नगरसचिव एवं कार्यबाहक अध्यक्ष समेत रहेका विजय झालाई सम्झिदैं पूर्वमेयर मण्डलले भने, ‘संगठन मजबुत बनाउन सबैको सहयोग चाहिन्छ ।’
त्यस्तै, सोही वडाका निर्वाचित वडाअध्यक्ष लालबाबु यादवले संगठनमा बल हुन्छ, त्यसैले संगठन बलियो बनाउन हामी सबै एक हुनु पर्छ । पार्टी रहे हामी रहन्छौ भन्दै अध्यक्ष यादवले भने, ‘पार्टी नभएको भए आज म वडाअध्यक्ष बन्ने थिएन होला । आगामी दिनमा पनि हामी संगठित हुँदै पार्टीलाई सुदृढिकरण गर्दै लैजानु पर्छ ।’
वडाको प्रथम वडाअधिवेशनबाट युवा नेता गणेश यादवको अध्यक्षता २१ सदस्यीय वडाकमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा ईन्दल सबदुल नदाफ, सचिवमा नरेश साह, सह–सचिवमा बिन्देश्वर यादव र कोषाध्यक्षमा राधा देवी मण्डल चयन भएका छन् ।
वडाअधिवेशनबाट चयन भएका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिँदै नगरसचिव झाले भने, ‘लोसपाको संगठनलाई हंसपुर नगरपालिकामा बलियो बनाउनु पर्छ ।’
अधिवेशनमा जिल्ला उपाध्यक्ष झपसी मण्डल, जिल्ला सदस्य एवं वडा नं. ३ का वडाअध्यक्ष उदयकुमार सिंह, जिल्ला सदस्य इस्लाम कावारी, नगर सदस्य हरिदयाल मण्डल, शिवशंकर मण्डल, वडा सदस्य अब्दुल नदाफ, वडा कमिटी सचिव नरेश साह, मदन साह, सीता शरण साह, ईसमाइल, इन्दल साह, बुद्धिजीवि रामपृत मण्डल लगायतको उपस्थिति थियो ।