रौतहट, ९ चैत । रौतहटको गरुडा नगरपालिका–६, पोठियाहीस्थित सामुदायिक पोखरी क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि १ करोड ३८ लाख रुपैयाँ लागतमा सूर्य भगवानको मन्दिर, छठ घाट, पार्क तथा पर्खाल निर्माण गरिने भएको छ ।
संघीय तथा नगरपालिकाको बजेटबाट टेन्डर प्रक्रियामार्फत सञ्चालन गरिने यस योजनाको शुक्रबार नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले शिलान्यास गरे सँगै निर्माण कार्य अगाडि बढ्ने भएको हो । मेयर जयसवालका अनुसार पोखरीको बीचभागमा सूर्य मन्दिर, पूर्वतर्फ छठ पर्व मनाउन विशेष घाट, साथै पोखरी वरपर पर्खाल तथा हरियाली पार्क निर्माण गरिने छ ।
स्थानीयवासीहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै कार्य अघि बढाइएको मेयर जयसवालले बताए ।
गरुडा नगरपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने नीति लिएको छ। यो योजनाका लागि १ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसले छठ पर्व मनाउने श्रद्धालुहरूका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ, नगर प्रमुख जयसवालले भने ।
उनका अनुसार निर्माण कार्य पूरा भएपछि यो क्षेत्र गरुडा नगरपालिकाको एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बन्नेछ । स्थानीय बासिन्दाले छठ पूजा लगायत अन्य धार्मिक गतिविधिहरू थप सुव्यवस्थित रूपमा गर्न सक्ने उनको बिश्वास छ ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय समाजसेवी, धार्मिक अगुवाहरू तथा नगरवासीहरूको उपस्थिति रहेको थियो ।





