
जनकपुरधाम, ९ चैत । जिल्ला प्रहरी कार्यालय धनुषाले ४ सय ७७ किलो गाँजा, हुण्डिका रकम र भन्सार छलिका सामाग्री साथै पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी भूवनेश्वर तिवारीले विभिन्न समयमा नियन्त्रणमा लिएका सामग्री सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले चार सय ७७ किलो गाँजासहित लक्ष्मीनिया गाउँपालिका–७ स्थित लक्ष्मीनिया चोकमा उक्त परिमाणको गाँजासहित मिनीट्रक र चालकलाई पक्राउ गरेको थियो । हिजो साझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मधेश प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनीट्रक जाँच गर्दा ३४ वटा प्लास्टिकले बेरिएका पोकामा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तिवारीले जानकारी दिए।
पक्राउ परेका चालक मकवानपुर पालुङ नगरपालिका–२ फाँटबजार बस्ने २४ वर्षीय सञ्जिव सिन्तानलाई सार्वजनिक गरिएको उनले बताए । सिन्तानलाई जिल्ला प्रहरी कार्यालयमा राखेर यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यसैगरी, धनुषाको मुसहर्निया गाउँपालिका–६ बैरिया टोल बस्ने भजु यादवको गोठमा भन्सार छली, तस्करी गरी लुकाएर राखिएको १९ लाख ६२ हजार पाँच सय मूल्य बराबरको जुत्ता, मोबाइलको टेम्पल ग्लास, एयरफोन र चार्जर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ कदम चोकबाट शिवम साहको डेराबाट नौ लाख ८० हजार एक सय २० सहित विभिन्न बैंक खाताको चेकबुक २४ थान, विभिन्न बैंकमा नगद जम्मा गरेको बैंक भौचर ८० थान, सात थान मोबाइल, मोटरसाइकल एक थानसहित अन्य सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तिवारीले जानकारी दिए ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय रवी साह र जनकनन्दिनी गाउँपालिका–२ बस्ने २२ वर्षीय अब्दुलकवारी शेखसँग नौ लाख नगद, दुई थान मोबाइल र एक थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।