
जनकपुरधाम ५ बैशाख ।
जनता समाजवादी पार्टी नेपालको महोत्तरी जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदान आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार कुल ३३३ जना प्रतिनिधिमध्ये ३०९ जनाले मतदानमा सहभागी भएर उत्साहजनक सहभागिता देखाएका छन्।
मतदान आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको थियो। निर्वाचन एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना सचिव, दुईजना उपसचिव, कोषाध्यक्षसहित कुल 6 जना पदाधिकारीको लागि मतदान सम्पन्न भएको छ । निर्वाचन समितिले मतदान प्रक्रिया सकिएको र आजै मतगणना गरी अन्तिम परिणाम घोषणा गरिने जानकारी दिएको छ।
निर्वाचन समितिका अनुसार मतदान स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तरिकाले सम्पन्न भएको छ। निर्वाचन प्रक्रिया पारदर्शी बनाउन आवश्यक सम्पूर्ण प्रबन्ध गरिएको थियो। मतगणना सकिएपछि नव-निर्वाचित नेतृत्वले औपचारिक जिम्मेवारी ग्रहण गर्ने तयारी गरिएको छ।
यसअघि वैशाख ३ गते अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव थिए। उक्त उदघाटन कार्यक्रमा महासचिव रामकुमार शर्मा ‘ पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव, केन्द्रीय सदस्य दीपक झा ‘गुडु’ लगायत विभिन्न पार्टी का नेताहरू, प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
जसपा नेपालको यो जिल्ला अधिवेशनले पार्टीको सांगठानिक सुदृढीकरणमा मात्र नभई, आगामी राजनीतिक दिशा निर्धारणमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। नव-निर्वाचित नेतृत्वले जिल्ला तहमा पार्टीको प्रभाव विस्तार, नीति निर्माणमा सहभागिता र जनताको आवाज बुलन्द गर्ने अपेक्षा गरिएको छ।