जनकपुरधाम, १२ बैशाख । मधेश प्रदेशमा १३ लाखभन्दा बढी व्यक्तिहरु औलोको जोखिममा रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

विश्व औलो दिवसको अवसरमा शुक्रबार मधेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा १३ लाख ३ हजार व्यक्तिहरु औलोको जोखिममा परेको उल्लेख छ । यो संख्या मधेस प्रदेशको कुल जनसंख्याको २० प्रतिशत रहेको बताइएको छ ।

प्रदेशगत तथ्यांकको आधारमा सबैभन्दा बढी क्रमशः सुदुर पश्चिम, लुम्बिनी र बागमती पछि चौथो स्थानमा औलोको जोखिम रहेको जनसंख्या मधेश प्रदेशमा रहेको छ । पाँचौमा कर्णाली, छैठौंमा गण्डकी र सातौंमा कोशी प्रदेश रहेको छ ।

औलो उच्च जोखिम भएपनि विभिन्न सतर्कताका कारण गत आर्थिक वर्षमा विरामी पुष्टि भएको संख्या ९१ जना रहेको निर्देशनालयले जनाएको छ । ४१ हजार ४ सय ६१ जनाको रक्त परिक्षण गरिएको थियो । औलोको बिरामी रहेका सबैजना आयातित रहेका छन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकले ‘पुनर्लगानी, पुनर्सोंच र पुनर्जागरण : हामी बाटै औलो निवारण’ मुल नाराका साथ मनाउन लागिएको यो दिवसले औलो न्युनिकरणका लागि जनजागरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताए ।

उनले सन २०२६ सम्ममा औलोको विरामी संख्या शुन्यमा झार्ने प्रमुख लक्ष्य बोकेको उल्लेख गर्दै औलोको रोकथामका लागि संयन्त्रहरु सुदृढ गर्दै जाने बताए ।

औलो निवारणका लागि विरामीहरुको समयमै पहिचान, शीघ्र उपचार र प्रतिकार्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न व्यापक प्रचार प्रसारको आवश्यकता रहेको औल्याए ।

लामखुट्टेको टोकाइबाट जोगिनु औलो रोकथामको सर्वोत्तम उपाय रहेको उल्लेख गर्दै उनले त्यसका लागि जनचेतना फैलाउन संचारमाध्यमको भूमिका अपरिहार्य रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औलोको जोखिम रहेको जनसंख्या कोशी प्रदेशमा १० लाख २ हजार, मधेस प्रदेशमा १३ लाख ३ हजार, बागमती प्रदेशमा १८ लाख १८ हजार, गण्डकी प्रदेशमा ११ लाख ४० हजार, लुम्बिनी प्रदेशमा १७ लाख ४० हजार, कर्णाली प्रदेशमा १२ लाख ६२ हजार र सुदुरपश्चिम प्रदेशमा २५ लाख ५ हजार रहेका छन् ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले प्रस्तुत गरेको तथ्यांकमा कोशी प्रदेशमा ३५ हजार ३ सय २६, मधेस प्रदेशमा ४१ हजार ४ सय ६१, बागमती प्रदेशमा १ लाख २६ हजार ६८, गण्डकी प्रदेशमा ३९ हजार ५ सय २६, लुम्बिनी प्रदेशमा १ लाख १६ हजार ८ सय ६२, कर्णाली प्रदेशमा ५१ हजार २ सय २३ र सुदुरपश्चिम प्रदेशमा ८५ हजार ३ सय २ जनामा रक्त नमूना परिक्षण गरिएको उल्लेख छ ।

महाशाखाको तथ्यांकमा कोशीमा १२ जना, मधेसमा ९१ जना, बागमतीमा ९१ जना, गण्डकीमा १६ जना, लुम्बिनीमा ३ सय १० जना, कर्णालीमा ३७ जना र सुदुरपश्चिममा २ सय ३४ जना औलोको बिरामी निश्चित गरिएको छ ।

औलो एनोफिलिज जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्दछ । कम ज्वरो औलोको मुख्य लक्षण हो । परिवार तथा छरछिमेकमा कसैलाई औलोको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई औलोको जाँच गराउनु पर्दछ ।

नेपाल सरकारको मातहतमा रहेका स्वास्थ्य संस्थाहरूमा औलोको जाँच तथा उपचार निःशुल्क हुने छ । ज्वरो आएका बेला औलो रोगको पनि परीक्षण गराउन सबैलाई आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !