
जनकपुरधाम, १५ वैशाख । राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशद्वारा आयोजित “एचआईभी संक्रमित व्यक्तिहरुको मानव अधिकार अवस्था विषयक नीति संवाद कार्यक्रम” सोमबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता आयोगका मधेश प्रदेश अध्यक्ष बुद्ध नारायण सहनीले गरेका थिए भने प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघ्न प्रसाद सिंह रहेका थिए।
कार्यक्रममा आयोगले तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो। सो अवसरमा एचआईभी संक्रमित व्यक्तिहरुले अस्पतालहरूमा औषधिको अभाव र उपचार सेवामा भोगिरहेका समस्याहरू बारे गुनासो व्यक्त गरे। सहभागिहरुले पनि संक्रमितहरूको वर्तमान अवस्था र उनीहरूले भोग्नुपरेको सामाजिक तथा स्वास्थ्य सम्बन्धी कठिनाइका विषयमा आफ्ना धारणा राखेका थिए।
प्रमुख अतिथि मन्त्री शत्रुघ्न सिंहले एचआईभी संक्रमितहरूको पीडा सुन्दा आफू दुःखी भएको बताउँदै खुला सीमाका कारण समस्या थपिएको उल्लेख गरे। उनले एचआईभी सम्बन्धी सचेतनामूलक सडक नाटक तथा कार्यक्रमहरू भए पनि नागरिक स्तरमै जिम्मेवारी आवश्यक रहेको बताए। मन्त्री सिंहले प्रादेशिक अस्पताल लगायतका स्वास्थ्य संस्थामा चिकित्सकले बिरामीप्रति हेलचक्र्य गरेको पाइएमा कारवाही गर्ने चेतावनीसमेत दिए। उनले पहिलेको तुलनामा अहिले प्रादेशिक अस्पतालहरूको सेवा सुधार भएको दाबी गरे।
कार्यक्रमका अध्यक्ष बुद्ध नारायण सहनीले एचआईभी संक्रमण शरीर तथा समाज भित्र रहेको भए पनि अझै खुलेर आउन नसकेको बताए। उनले संक्रमितले स्वेच्छिक रूपमा आफ्नो अवस्था सार्वजनिक गरेमा उपचार र परामर्श सेवा सजिलो हुने धारणा व्यक्त गरे। साथै, जनचेतनामूलक कार्यक्रमहरू प्रदेश मात्र नभई स्थानीय तहबाट सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। स्थानीय सरकारले एचआईभी संक्रमणलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमले एचआईभी संक्रमितहरूको मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सम्बन्धित निकायहरू र सरोकारवालाहरूको ध्यान आकर्षित गराएको छ।