वीरगन्ज , १९ पुष । बारामा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) को साथबाट सरकारी पेस्तोल हराएपछि मधेस प्रदेश प्रहरीमा खैलाबैला मच्चिएको छ। घटनाको गम्भीरताका कारण इलाका प्रहरी कार्यालय (इप्रका) कबहीमा कार्यरत १२ जना प्रहरी कर्मचारीमाथि अनुसन्धान सुरु गरिएको छ।
इप्रका कबहीका प्रमुखसमेत रहेका सई सोनुकुमार मिश्रले बोकेको ९ एमएमको सरकारी पेस्तोल रहस्यमय रूपमा हराएपछि मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले उक्त कार्यालयमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका सबै प्रहरीलाई प्रदेश कार्यालयमा तानेको हो। घटनाको छानबिन र सोधपुछका लागि उनीहरूलाई जनकपुर झिकाइएको र कबहीमा भने अस्थायी रूपमा अर्को प्रहरी टोली खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटना गत पुस ११ गतेको हो। पेस्तोल हराएको जानकारी प्राप्त भएपछि मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा एसपी भेषराज रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो। पुस १५ मा गठन भएको समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सकेपछि थप अनुसन्धानका लागि त्यहाँ कार्यरत सम्पूर्ण प्रहरीलाई प्रदेश कार्यालयमा बोलाइएको हो।
प्रारम्भिक बयानका क्रममा सई मिश्रले राति गस्ती गर्ने क्रममा पेस्तोल हराएको बताएका छन्। तर, उनले ब्यारेकबाटै हतियार हराएको हुन सक्ने अर्को बयानसमेत दिएका कारण घटनाको विवरण अस्पष्ट र शंकास्पद देखिएको छानबिन समितिले जनाएको छ। त्यसैले सबै प्रहरी कर्मचारीलाई अलग–अलग राखी गहन सोधपुछ भइरहेको छ।
छानबिन समितिका संयोजक एसपी रिजालले दोषी देखिने जो कोहीलाई पनि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेका छन्। यसैबीच, सीमा क्षेत्रमा तस्कर समूह सक्रिय रहेकाले ड्युटीका क्रममा हतियार खोसिएको हुन सक्ने आशङ्काबाट पनि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन।
सरकारी हतियार नै सुरक्षित नहुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको भन्दै प्रदेश प्रहरीले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।





