रौतहट २२ माघ । जिल्लाको ईशनाथ नगरपालिका–४, मठिया टोलमा कारको ठक्करबाट गम्भीर घाइते भएकी ४ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
स्थानीय मोहम्मद सगिरकी छोरी अल्फा खातुन मस्जिद नजिक खेलिरहेको अवस्थामा बा.१५ च. ४२४४ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि कार चालकले घाइते बालिकालाई सोही गाडीमा सिटी अस्पताल गौर पुर्याएका थिए। तर उपचारका क्रममा बालिकालाई अस्पतालमै छाडेर चालक फरार भएको जनाइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गौर, रौतहटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो । घाइते बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको भए पनि आज अपराह्न करिब ४:४५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।
प्रहरीले मृतक बालिकाको शव तथा घटनामा संलग्न कारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको जनाएको छ । साथै दुर्घटनामा संलग्न कार चालक परोहा नगरपालिका–३, तेजापाकड निवासी २७ वर्षीय शेख मुस्ताकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार शेख सगिरले चुनावी घरदैलो कार्यक्रममा प्रयोग गर्दै आएको गाडी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको समयमा उम्मेदवार शेख सगिर भने पैदल रूपमा घरदैलो कार्यक्रममा सहभागी रहेको र दुर्घटनाको बेला चालक गाडीमा एक्लै रहेको प्रहरीको भनाइ छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






