मिर्चैया, सिरहा ८ फलगुन । जनता समाजवादी पार्टी नेपाल मा आज मिर्चैया नगरपालिका क्षेत्रका एमाले नगर कमिटी उपाध्यक्ष तथा विगत मधेश आन्दोलनका सक्रिय योद्धा भाई अशोक चौधरी प्रवेश गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गर्दै चौधरीले जसपा नेपाल रोजेको घोषणा गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवप्रवेशी चौधरीले मधेशको अधिकार, पहिचान र समृद्धिका लागि आफू सधैं संघर्षरत रहेको बताउँदै अब जसपा नेपालमार्फत जनताको मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले मधेश आन्दोलनका उपलब्धिहरू संस्थागत गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
जसपा नेपालका स्थानीय नेताहरूले चौधरीको आगमनले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उनलाई स्वागत गरेका थिए। उनीजस्ता अनुभवी र आन्दोलनमा खारिएका व्यक्तित्वको प्रवेशले नगरस्तरमा पार्टीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।





