मलंगवा, १९ चैत । सर्लाहीका तीनवटा पालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दा विकास निर्माणका काम तथा अन्य योजना अघि बढ्न सकेका छैनन् ।

जिल्लाको बागमती नगरपालिका, धनकौल गाउँपालिका र ब्रह्मपुरी गाउँपालिका महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । चालू आर्थिक वर्ष सकिन अब साँढे तीन महिना मात्रै बाँकी रहेको र कुनै पनि योजना सम्झौता नै नभएको अवस्था रहेकाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या थपिएको जनप्रतिनिधिको गुनासो छ ।

 

यि तीनवटै पालिकाले दरबन्दीअनुसार नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन वा पालिकामा कार्यरत सिनियर कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर भएपनि समस्याको गाँठो फुकाइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हारगुहार गर्न थालेका छन् । बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले पालिकामै कार्यरत लेखा अधिकृतलाई निमित्तको जिम्मेवारी प्रदान गर्न वा नयाँ उपसचिव पठाइदिन मन्त्रालयलाई बारम्बार घच्घच्याउने काम गरिरहेको बताए ।

उपसचिव भूपेन्द्र पाण्डे एक महिनाजति पालिकामा हाजिर भएर रोकिएको तलब, भत्ता निकासा गरेर पुनः सरुवा गराइ गएपछि प्रमुख प्रशासकीय अधिकृतको अभाव भएको उनले गुनासो गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालू आर्थिक वर्षको कुनै पनि योजना सम्झौता गर्न नपाएकाले जनप्रतिनिधि तथा अन्य कर्मचारी कामविहीन जस्तै भएर बस्नुुपरेको कार्यवाहक नगरप्रमुख लामाको भनाई छ ।

जिल्लाको धनकौल गाउँपालिका र ब्रह्मपुरी गाउँपालिका गएको माघ ९ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । मन्त्रालयले देशभरका २३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोस्दा धनकौलमा कार्यरत स्वास्थ्य सेवातर्फका सिनियर अहेब कृष्णमोहनप्रसाद साह र ब्रह्मपुरीमा कार्यरत स्वास्थ्य सेवाकै अधिकृत छैठौं उपेन्द्र राउतले सम्हालेको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको थियो ।

त्यसयता प्रमुख प्रशासकीय अधिकृतका लागि मन्त्रालयमा पटक–पटक पहल गरेपनि भोली–भोली भन्दै टार्ने काम भइरहेको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह तेलीले बताए । माघ २५ गते देशभरका १६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिँदा सर्लाहीको विष्णु गाउँपालिकामा कार्यरत स्वास्थ्य सेवातर्फका अधिकृत छेटौं संजिव सापकोटाको पनि जिम्मेवारी खोसिएको थियो ।

मन्त्रालयले पुनः सापकोटालाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि विष्णु गाउँपालिकामा भने धमाधम योजना सञ्चालन हुन थालेको गाउँपालिकाले जनाएको छ । तराईका कतिपय पालिकामा प्रमुख प्रशासकीय अधिकृत आउनै नमान्ने र कतै जनप्रतिनिधिले आफू अनुुकुलका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिन खोज्दा समस्या पर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !