जनकपुरधाम, ३० चैत । जनता समाजवादी पार्टी नेपालले नागरिकहरुको अधिकार प्राप्तिका लागि परिसंघ गठन गरेको छ ।

शनिबार पार्टी कार्यालय काठमाडौंमा एक कार्यक्रम गरी अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न भन्दै केन्द्रीय परिसंघ गठन गरेको हो ।

थारु, महिला, दलित, आदिवासी जनजाती, पिछडावर्ग, मुश्लिम, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित संघ/संगठन, संस्था र व्यक्तित्वहरु सम्मिलित ४१ सदस्यीय परिसंघ गठन भएको जसपाले जनाएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा केन्द्रीय सदस्य चन्देश्वर पासवानको नेतृत्वमा जसपा नेपालले परिसंघ घोषणा गरेको हो । केन्द्रीय सल्लाहकारमा पीके ठाकुरलाई चयन गरिएको छ । परिसंघको अर्को बैठकले महासचिवको टुङ्गो लगाउने बताइएको छ ।

नवगठित परिसंघको केन्द्रीय सहसंयोजकमा आदिवासी जनजातिबाट पञ्चराम तामाङ, पिछडावर्गबाट भरतप्रसाद महतो, मुश्लिमबाट युसुफ अली, थारुबाट रामआश्रय चौधरी र दलितबाट सुनिता मरिक सर्वसम्मतले चयन भएका छन् ।

केन्द्रीय सचिवमा आदिवासी जनजातिबाट सोनाम याक्खा, पिछडावर्गबाट मनाई महतो, मुश्लिमबाट शशिकपुर मियाँ, थारुबाट मानन चौधरी र दलितबाट प्रदिप घताल चयन भएका छन् ।

बैठकले आगामी वैशाख ३१ गते वीरगञ्जको टाउन हलमा परिसंघको प्रथम बृहत् खबरदारी सभा गर्ने निर्णय गरेको छ । परिसंघको नेतृत्व चयनसँगै प्रमुख उद्देश्यसहितको ३२ बुँदे अवधारणा पत्र समेत जारी गरिएको छ ।

‘दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारू, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडनलाई अन्त्य गर्न, उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ’, अवधारणा पत्रमा भनिएको छ,– ‘मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्यायको प्राप्तिका लागि संघर्ष गर्न यी समुदायहरूसँग सम्बन्धित संगठन÷संघ, संस्था र व्यक्तिहरू सम्मिलित रहने गरी दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायहरुको परिसंघ गठन गरिएको छ ।’

‘दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, महिला, पिछडावर्ग, अल्पसंख्यकलगायत असमानता, शोषण, उपेक्षा र बहिष्करण तथा विभेदमा पारिएका/परेका विपन्न वर्गलगायतका समुदायहरूको सांस्कृतिक/जातीय पहिचानको मान्यता, समानुपातिक समावेशीकरणका साथै स्वतन्त्रता, समानता र सामाजिक न्यायको प्रत्याभूति गराउने’– अवधारणा पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !