काठमाडौं, २ वैशाख  । नेकपा (एमाले) का नेता केशव बडालले सरकारबारे नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाको धारणालाई ठूलो कुरा मान्न नहुने बताएका छन् ।

उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सहमति कायम रहेसम्म सरकार तलमाथि नहुने धारणा राखेका हुन् । उनले ओली–देउवाबीच सरकारबारे प्रत्येक हप्ता छलफल हुन आवश्यक रहेको बताए । ‘शेखर डा.सापले के कुरा राख्नुभयो, गगनजीले के कुरा राख्नुभयो ? यी ठूला कुरा होइनन् । दुई पार्टीका दुई अध्यक्षबीच नियमित रुपमा हुने भेटघाट, छलफल, विचार विमर्श हुन्छ,’– उनले भने ।

साथै, पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा पुगेर नयाँ वर्षसँगै सरकार फेरिन्छ भनेर धुप हालेको उनको टिप्पणी छ । प्रचण्ड एकदमै अस्थिर पात्र रहेको र उनको विहान र बेलुकाकै कुराहरु नमिल्ने नेता बडालले बताए । उनले भने, ‘चितवनमा एक जना साथीले नयाँ वर्ष आएपछि सरकार फेरिन्छ भनेर धुप हाल्नु भएको रहेछ । उहाँले २४ घण्टाभित्र बोलेको कुरा एक ठाउँमा राख्यो भने मिल्दैन ।’

नेता बडालले प्रचण्ड सत्ताबाहिर बस्नै नसक्ने पात्र रहेकाले उनलाई अहिले खप्न गाह्रो भइरहेको बताए । उनले जनताका जायज आवाजलाई सम्बोधन गर्नेतिर लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !