जनकपुरधाम, १३ असोज । जनकपुरधाम लगायत तराई मधेशका शक्तिपीठहरुमा आराध्यदेवी भगवती दुर्गाको आँखाको नानी थपिने विधिका लागि बेललाई निमन्त्रण विधि सम्पन्न भएको छ ।

शारदीय नवरात्र र दशहारा भनिने दशमी पर्वको षष्ठी तिथिमा बेललाई निमन्त्रण गर्ने मैथिल परम्परा छ । जसलाई बेलनौती पनि भनिन्छ । राजदेवी मन्दिरका पंण्डित गणेश झाका अनुसार असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी (चतुर्थी) तिथि दुई दिन पर्दा १० दिनको नवरात्र भएको छ । यसअनुसार छैटौँ दिन षष्ठी तिथिमा सम्पन्न गरिने ‘बेलनौती’ यसपालि सातौँ दिनमा परेको छ ।

मुख्यतः दशमीका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि बेलनौती विधि गरिन्छ । यसैगरी देवी शक्तिपीठ र मन्दिरमा पनि बेलनौती विधिको बेल पूजास्थलमा राखिने परम्परा तराई मधेश क्षेत्रमा रहेको छ । सोही अनुसार आइतबार जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरबाट बाजागाजा सहितको श्रद्धालुहरुले वैदिक परम्परा अनुसार जिल्ला समन्वय समिति परिसरमा रहेको बेललाई निमन्त्रण दिएका छन् ।

यहाँ दशहारा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर जोडी बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौती’ भन्ने गरिन्छ । ‘नौत’ भनेको निमन्त्रणा गरिनु हो । यसअनुसार षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गरिएको छ ।

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको जोडाबेलको फललाई सप्तमीका दिन बिहानै टिपेर सोही फलको डाँठले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको डाँठ प्रयोग गर्ने परम्परा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् । मिथिलामा आँखा उघारिएपछि माटो मुछेर बनाई स्थापित गरिएका देवी प्रतिमा पूर्ण सजीव भएको मानिन्छ ।

वनस्पतिमा बेललाई देव वीज मानिन्छ । बेलको पातमा लक्ष्मीको बास हुने मान्यता पाइन्छ । सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल डाँठसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले बेलको डाँठले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ ।

बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिन्छ । सप्तमीका दिन चण्ड मुण्ड भनि विश्वास गरिएको बेलजोडीलाई निमन्त्रण दिएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजास्थल तिर लगिन्छ ।सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा(नानी) थपिन्छ । जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ । बेलको पातलाई त्रिशुल र त्रिनेत्र पनि मानिने चलन रही आएको छ । मधेश क्षेत्रमा निजी र सामूहिकरुपमा भगवती दुर्गाको पूजा गर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !