जनकपुरधाम, २५ भाद्र । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले परिवर्तनकारी युवाहरूलाई समावेश गरी तत्काल अन्तरिम सरकार गठन गरी मुलुकलाई सहज निकास दिनु आजको आवश्यकता भएको बताएको छ ।  बुधबार जसपा नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

प्रवक्ता मनिष कुमार सुमनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’नेपालको इतिहासमा पहिलो पटक जेनजीका युवा पुस्ताद्वारा सुशासन, भ्रष्टाचार नियन्त्रण, न्याय र परिवर्तनका खातिर गरिएको आन्दोलन विजयकासाथ सफल भएको छ । यसका लागि आन्दोलनकारी युवा पुस्तालाई हार्दिक बधाई दिन चाहन्छौँ । आन्दोलनरत परिवर्तनकारी युवाहरूलाई समावेश गरी तत्काल अन्तरिम सरकार गठन गरी मुलुकलाई सहज निकास दिनु नै आजको आवश्यकता हो ।’

आन्दोलनको क्रममा मुलुकमा जन-धनको अपूरणीय क्षति हुन गएको भन्दै थप दुर्घटना तथा क्षति हुन नदिन सचेत र सजग रहनुपर्ने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा भएका आन्दोलन, सङ्घर्ष, त्याग र बलिदानद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू खासगरी समानता, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र मौलिक हक जस्ता उपलब्धिहरूलाई संरक्षण गर्दै थप उपलब्धिहरूका लागि प्रयास निरन्तर जारी रहनुपर्ने समेत जसपा नेपालले बताएको छ ।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार लगायत सयाैँकाे संख्यामा सरकारी तथा निजी संरचना जलाइएकाे थियाे । उनीहरूले भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक सञ्जालमाथि प्रतिबन्धकाे विराेधमा प्रदर्शन गरेका थिए ।

546392108_1086618440290152_7355425375876001124_n

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !