जनकपुरधाम २९ मंसिर । जनता समाजवादी पार्टी (जसपा), नेपालको धनुषा जिल्लाअन्तर्गत औरही गाउँपालिका समितिको विस्तारित बैठक सम्पन्न भएको छ। बैठक औरही गाउँपालिका समिति अध्यक्ष कमलदेव मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा जसपा नेपालका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य रामअशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यस्तै, जसपा नेपालका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य ममता मण्डल तथा जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादव विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

बैठकमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, आगामी दिनका राजनीतिक कार्यदिशा तय गर्ने, स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने तथा जनसरोकारका विषयमा केन्द्रित भई व्यापक छलफल गरिएको थियो। नेताहरूले वर्तमान राजनीतिक परिवेशमा पार्टीको सांगठनिक एकता मजबुत बनाउँदै जनताको समस्या र अपेक्षाप्रति संवेदनशील भई सक्रिय रूपमा परिचालित हुन कार्यकर्तालाई आह्वान गर्नुभयो।

प्रमुख अतिथि यादवले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन संगठनात्मक सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै जनताको हक–अधिकारको संरक्षण र सम्वर्द्धनका लागि जसपा नेपाल निरन्तर संघर्षरत रहने बताउनुभयो। उहाँले स्थानीय तहमा जनआधारित कार्यक्रम सञ्चालन गरी पार्टीप्रति जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथिहरूले पार्टीको सांगठनिक सुदृढीकरणसँगै अनुशासन, एकता र समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उनीहरूले स्थानीय तहका जनसमस्याको पहिचान गरी समाधानतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो।

बैठकमा औरही गाउँपालिकाका पार्टी पदाधिकारी, विभिन्न वडाका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले पार्टी संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउँदै आगामी कार्यक्रमहरू योजनाबद्ध रूपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !