
काठमाडौ २ फागुन, बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुन स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार गएराति भएको कुटपिटका क्रममा कलैया उपमहानगरपालिका–९ का धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डलको निधन भएको हो ।
सुधार केन्द्रमा राति २ बजे कुटपिट भएको थियो ।मृतक मण्डल सुधार केन्द्रमा गत १५ दिनअघि मात्रै भर्ना भएका थिए । सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि कुटपिट भएको थियो ।कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो । त्यहाँ नै चिकित्सकले उनको मृत्यु घोषणा गरेको एसपी तामाङले अनलाइनखबरलाई बताए ।
कुटपिटमा संलग्न अन्य ७ जनालाई प्रहरीले पक्राउ गरेको छपक्राउ पर्नेहरूमा कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, कलैया–४ का २२ वर्षीय निरज सरार्फ, कलैया–६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया, कलैया–१ का २४ वर्षीय अरुण सरार्फ, कलैया–२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया–३ का २९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्ता रहेका छन् । एसपी तामाङका अनुसार अहिले पीडित पक्षबाट जाहेरी दिने काम भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।