
जनकपुरधाम, १७ फागुन । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेश समतिद्वारा जनकपुरधाममा कोणसभा गरिएको छ ।
मुकुम्लुङमा भइरहेको ‘नो केवलकार’ आन्दोलनको समर्थनमा शनिबार जनकपुरधामको जनकचोकमा कोणसभा आयोजना गरिएको हो ।
कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झाले पाथीभरा माताले केवलकार निर्माणको अनुमति नदिएको दाबी गर्दै यसअघि प्रयास गर्नेहरूमध्ये केही हेलिकप्टर दुर्घटनामा परेको स्मरण गराए ।
साथै, २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई केपी ओली नेतृत्वको सरकारले विकास क्षेत्रमा परिणत गरी आफ्ना कार्यकर्ताहरूलाई सस्तोमा जग्गा किन्न लगाएको र केवलकार निर्माण कम्पनीलाई महँगो मूल्यमा बिक्री गरेको आरोप लगाए ।
नेता झाले भने, ‘अहिले फेरि केपी ओली नेतृत्वको सरकार आएपछि स्थानीयबासीमाथि दमन गर्दै केवलकार निर्माण कार्य सुरु गर्न लागेको छ । यसको सशक्त रूपमा सम्पूर्ण नेपाली जनताले विरोध गर्नुपर्ने धारणा व्यक्त गरे ।’
कोणसभामा पार्टीका नेता संजय चौधरी, दीपक यादव, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले मुकुम्लुङ आन्दोलनको समर्थनमा जोरदार आवाज उठाए ।
सो सभामा नेता संजय सिंह, दीपक झा, विनोद ठाकुर, कृष्ण कुमार साह, भरत साह, मो. समीर, अरबाज दरजी तथा स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुमन झा पनि सहभागी थिए ।