
जनकपुरधाम, ३१ चैत । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफ्ना सुरक्षा गार्डलाई छाता ओढाउन लगाएको पाइएको छ ।
सुरक्षा दिन खटिएका गार्डलाई छाता ओढाउन लगाएको पाइएपछि सर्बत्र विरोधसहित सभामुख मण्डलको चर्को आलोचना हुन थालेको छ ।
सभामुख मण्डल आफ्नो निर्वाचन क्षेत्र धनुषा १ (ख) मा चैत ३० गते शनिबार एक पुलको शिलान्यास गर्न पुगे । सरस्वतीपुरका स्थानीयहरु पुलको शिलान्यास गर्न सभामुख आएको खबर सुनेर खुशी हुँदै शिलान्यास स्थलमा भिड भए ।
अहिले देशमा धेरै ठूलो र महत्त्वपूर्ण आवाज उठ्ने गर्दछ, त्यो हो संघीयता र लोकतान्त्रिक गणतन्त्र खतरामा छ भनेर । राजावादीहरु सलबलाउन थाले, अब हामी संघीयता संस्थागत गर्नु पर्छ । जतिखेर संकट आउँछ, त्यत्तिखेर जनता गुहार्ने अनि, गार्डलाई छाता ओढाउन लगाउने । सांसद र मन्त्रीहरुको यस्तै हर्कत रहन्छ भने संघीयता समाप्त नहुने भन्न सकिन्न ।
दुई कार्यकाल सभामुख मण्डल सोही क्षेत्रबाट निर्वाचित भएका छन् । अन्यत्र धेरै ठूल्ठूला कुरा गरे, विकास निर्माणका काम गरे तर पुलका कारण बाटो अवरुद्ध हुने ठाउँमा जहाँ वास्तवमा जनताहरुलाई यातायात समस्या हुने गर्दथ्यो । त्यस ठाउँको विकासमा मण्डलको ध्यान ढिलो पुग्यो ।
दुई वडाको सीमाक्षेत्र भएर पनि सो खोल्सीमा पुल नबन्दा स्थानीयहरु वर्षायाममा सहजरुपमा यातायातको सुविधाबाट बञ्चित हुनु परेका छन् ।विगत लामो समयदेखि पुल अभावमा सरस्वतीपुरमा सहज आवतजावतको वातावरण छैन । अब शिलान्यसपछि छिट्टै आवतजावतमा सहज हुने स्थानीयहरु बताउँछन् ।
धनुषाधाम नगरपालिकाको वडा ७ मा पर्ने सो खोल्सीको पुल निर्माणमा स्थानीय तह र वडा कार्यालय मौन छन् । करिब ८ वर्षको अवधिमा पुल निर्माणको सबालमा नगर प्रमुख र उपप्रमुखको आँखा कहिल्यै परेन, त्यस खोल्सीमा ।
पुल नहुँदा हामीले धेरै दुःख पायौं । स्थानीय सत्यनारायण दासले भने, ‘पुल बन्ने भएपछि हामी सबै खुसी छौं ।’