सर्लाही, ६ भदौ । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शन जारी छ । यसैक्रममा शनिबार बिहान सर्लाहीको लालबन्दीमा पनि प्रदर्शन भएको हो ।

गरिमाको हत्यारालाई कारबाहीको माग गर्दै लालबन्दी बजारमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका पदाधिकारी, अधिकारकर्मी तथा नागरिक अगुवालगायतको सहभागितामा लालबन्दीस्थित जनवादी चोकदेखि डुमडुमे मन्दिरसम्म दबाबमूलक र्‍याली निकालिएको थियो ।

त्यसपछि आयोजित कोणसभामा वक्ताहरूले दोषीमाथि कडा कारबाही र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए । कोणसभामा मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीले गरिमा चौधरीको हत्याले देशभरका नागरिकलाई स्तब्ध बनाएको बताउनुभयो।

समाजमा मानवता हराउँदै गएको संकेत गर्ने यस्ता घटनाले सबैलाई लज्जित बनाएको उहाँको भनाइ थियो । यस्ता जघन्य अपराध न्यूनीकरणका लागि घरपरिवार, समाज र विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा प्रदेशसभा सदस्य लुङ्गेलीले जोड दिनुभयो । त्यस्तै शनिबार नै हरिवन बजारमा पनि प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !