जनकपुरधाम, ८ कात्तिक । जेनजी आन्दोलनका अगुवा पुरुषोत्तम यादवले छठ पर्वपछि हुने भनिएको आन्दोलनसँग जेनजी आन्दोलनको कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

शनिबार सार्वजनिक विज्ञप्तिमार्फत उनले जेनजी आन्दोलनले त्यस आन्दोलनमा कुनै औपचारिक, राजनीतिक वा वैचारिक समर्थन नगरेको बताएका हुन् ।

यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा भन्न चाहन्छौं – जेनजी आन्दोलन छठपछि हुन लागेको आन्दोलनसँग कुनै पनि औपचारिक, राजनीतिक वा वैचारिक सम्बन्ध राख्दैन र त्यस आन्दोलनमा समर्थन प्रदान गरेको छैन ।’

उनका अनुसार जेनजी आन्दोलनको लक्ष्य सुशासन, पारदर्शिता र भ्रष्टाचार विरुद्धको अभियानमा केन्द्रित रहेको छ । उनले स्मरण गराए कि यही जनदबाब र राजनीतिक सचेतनाको परिणामस्वरूप पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार परिवर्तन भई सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको थियो, जसले न्याय, जवाफदेहिता र परिवर्तनको प्रतीकको रूपमा काम गरिरहेको छ ।

यादवले जेनजी आन्दोलन अब नयाँ राजनीतिक शक्ति निर्माणतर्फ अघि बढिरहेको उल्लेख गर्दै भने, ‘हाम्रो केन्द्रमा युवाको नेतृत्व, संस्थागत सुधार र उत्तरदायित्वपूर्ण शासन प्रणालीको निर्माण रहेको छ ।’

विज्ञप्तिमा उनले सबै युवाहरू, नागरिक र राजनीतिक शक्तिहरूलाई देशलाई अस्थिरता र अराजकतामा धकेल्ने गतिविधिबाट टाढा रहन र शान्तिपूर्ण, रचनात्मक तथा लोकतान्त्रिक माध्यमबाट परिवर्तनको अभियानलाई अघि बढाउन आह्वान गरेका छन् ।

उनले थपे, ‘देशलाई अघि बढाउने बाटो संवाद, संयम र सहकार्यबाटै हो । फागुन २१ गतेसम्म निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षबीच एकता र जिम्मेवारीपूर्ण व्यवहार जरुरी छ ।’

यादवले अन्त्यमा जेनजी आन्दोलन परिवर्तन र उत्तरदायित्वको पक्षमा रहेको दोहोर्‍याउँदै भने, ‘हामी अराजकता र विभाजनको विरोधमा छौं ।’

यस्तो छ विज्ञप्ति –

मिति: २०८२ कात्तिक ८ गते

छठ पर्वपछि हुन लागेको आन्दोलनप्रति विभिन्न भ्रम र चर्चा फैलिएको सन्दर्भमा जेन्जी आन्दोलनको आधिकारिक राजनीतिक धारणा यस विज्ञप्तिमार्फत सार्वजनिक गर्न चाहन्छौं।

हामी स्पष्ट रूपमा भन्न चाहन्छौं – जेन्जी आन्दोलन छठपछि हुन लागेको आन्दोलनसँग कुनै पनि औपचारिक, राजनीतिक वा वैचारिक सम्बन्ध राख्दैन र त्यस आन्दोलनमा समर्थन प्रदान गरेको छैन। हाम्रो आन्दोलनको लक्ष्य, सिद्धान्त र कार्यदिशा स्वतन्त्र, लोकतान्त्रिक र नवीन सोचमा आधारित छ।

जेन्जी आन्दोलनको सुरुवात सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको जनआन्दोलनबाट भएको हो। यही जनदबाब र राजनीतिक सचेतनाको परिणामस्वरूप केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भएको हो, र त्यसपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको सरकार हाम्रो समर्थनमा बनेको हो – जुन न्याय, जवाफदेहिता र परिवर्तनको प्रतीक हो।

अहिले जेन्जी आन्दोलन नयाँ राजनीतिक शक्ति निर्माणको दिशामा अघि बढिरहेको छ। हाम्रो केन्द्रमा युवाको नेतृत्व, संस्थागत सुधार र उत्तरदायित्वपूर्ण शासन प्रणालीको निर्माण रहेको छ।

यस सन्दर्भमा, हामी सबै युवा, नागरिक र राजनीतिक शक्तिहरूलाई देशलाई अस्थिरता र अराजकतातर्फ धकेल्ने कुनै पनि गतिविधिबाट टाढा रहन र शान्तिपूर्ण, रचनात्मक र लोकतान्त्रिक माध्यमबाट परिवर्तनको यात्रा अघि बढाउन आह्वान गर्दछौं।

हामी सबैलाई स्मरण गराउन चाहन्छौं – देशलाई अघि बढाउने बाटो संवाद, संयम र सहकार्यबाटै हो। त्यसैले, हामि फागुन २१ गतेसम्म निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षबीच एकता र जिम्मेवारीपूर्ण व्यवहारको लागि आग्रह गर्दछौं।

जेन्जी आन्दोलन परिवर्तन र उत्तरदायित्वको पक्षमा छ – हामि अराजकता र विभाजनको विरोधमा छौं ।

पुरुषोत्तम यादव
अगुवा, जेन्जी आन्दोलन

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !