रुपन्देही , १३ कात्तिक । नेपाल विद्युत् प्राधिकरणद्वारा गरिएको विद्युत् कटौतीविरुद्धको आन्दोलनमा सम्बोधनकै क्रममा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।
रुपन्देहीको भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा बुधबार दिउँसो बोल्ने क्रममा उनी अचानक बेहोस भएर ढलेका थिए।
उनीलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरे।
गौतमले आन्दोलनमा सम्बोधन गर्दै सरकार र प्राधिकरणमाथि आक्रोश प्रकट गर्दै श्रमिक र उद्योगीहरूलाई एकजुट हुन आग्रह गरेका थिए।
उनले भनिरहेका थिए — “हामीले श्रमिकहरूलाई गुमाउन चाहँदैनौं…. अतः यो कारणले……” — त्यत्तिकैमा उनको बोली लरबरियो र उनी मञ्चमै ढले।
कार्यक्रमस्थलमा रहेका रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराका अनुसार उनलाई तुरुन्तै गाडीमार्फत अस्पताल पुर्याइए पनि १२ मिनेटमै मृत्यु भएको पुष्टि भएको थियो।
६२ वर्षीय गौतम बुटवलको लक्ष्मीनगरका स्थायी बासिन्दा थिए। उनी दुई दिनअघि मात्रै काठमाडौंबाट फर्किएर रुपन्देहीमा सुरु भएको आन्दोलनमा सक्रिय नेतृत्व भूमिकामा सहभागी भएका थिए। उनको निधनपछि जिफन्ट र श्रमिक संघीय संगठनहरूमा शोक र स्तब्धता व्याप्त भएको छ।





