काठमाडौँ , १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को २७ देखि २९ पुससम्म हुन लागेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयनमा केही रोचक किस्सा र घटना देखिएका छन् । महाधिवेशनको १५ दिनअघि शनिबार भएको महाधिवेशन प्रतिनिधि चयनका क्रममा केही ठाउँमा रोचक घटना भए । कतै माइन्युट च्यात्ने र मतपेटिका हराउनेसम्मका घटना भएका छन् ।
महाधिवेशनका लागि एमालेले देशभरि र प्रवासबाट पनि प्रतिनिधि चयन गरेको छ । एमालेले १३ मंसिरमा देशभरिबाट महाधिवेशन प्रतिनिधि चयन गरेको छ । अपवादबाहेक देशभरि एमालेले कहीँ निर्वाचनबाट र कहीँ सर्वसम्मत तरिकाले प्रतिनिधि चयन गरेको छ ।
प्रतिनिधि चयन हुनुभन्दा पहिला नै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षमा पोखरेलले उम्मेदवारी घोषणा गरेपछि एमालेको ११औँ महाधिवेशन दुई पक्षबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै बनेको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलपक्षबीच महाधिवेशनमा प्रतिस्पर्धा हुने कुराको प्रभाव प्रतिनिधि छनोटमा सबैभन्दा बढी परेको छ ।
एमालेको प्रतिनिधि छनोटमा नै ध्रुवीकरण हुँदा मतपत्र च्यात्नेदेखि कुटाकुटसम्म भएको छ । पोखरेलको पक्षमा खुलेका जिल्ला अध्यक्षसम्म पराजित भएका छन् ।
यी सबै हुनुमा महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने तयारी रहेको एमालेका एक केन्द्रीय सदस्य बताउँछन् । ती केन्द्रीय सदस्यले भने, ‘अधिकांश ठाउँमा सर्वसम्मत र शान्तिपूर्ण रूपमा निर्वाचनबाट प्रतिनिधि चयन भएका छन् । तर, केहीकेही ठाउँमा पक्षविपक्षबीचको विवादले बिथोलिएको छ । केही ठाउँमा एक पक्षलाई सिध्याउन अर्को पक्ष लागेको देखिएको छ ।’
बझाङमा एमालेको जिल्ला कमिटीको माइन्युट नै च्यातिएको एक जिल्ला नेताले बताए । ती नेताले भने, ‘पहिला सहमतिमा प्रतिनिधि छनोट गर्ने भन्ने सहमति भएको थियो । तर, सहमतिको नाममा जिल्ला इन्चार्जलगायतका नेताहरूसँग सरसल्लाह नै नगरी एकलौटी रूपमा लिस्ट निकालेपछि माइनुट नै च्यातिएको छ ।’
विवाद हुँदा बझाङमा प्रतिनिधिको दुई लिस्ट आएका छन् । बझाङका इन्चार्ज भैरबबहादुर सिंह र केन्द्रीय सदस्य ऐन महरबीचको गुटबन्दीका कारण दुई फरकफरक सूची सार्वजनिक भएका छन् । यता मकवानपुरमा जिल्लाका पार्टी अध्यक्ष श्रीधर पोखरल ईश्वर पोखरेलको पक्षमा खुलेका आधारमा नै हराएको बताउँछन् ।
उनले भने, ‘ईश्वर पोखरेलको समर्थनमा दृढतापूर्वक लागेको हुँ । यो पार्टीमा केपी ओलीले जे गर्नु थियो, गरिसके । उनले सरक्क नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो । अन्यथा यस्तै रवैयाले यो पार्टी सकिन्छ । विश्वमा दशौँ लाखले बलिदानी गरेको कम्युनिस्ट पार्टी एकथोपा रगत नबगी सकिएका छन् ।’
मकवानपुरबाट १७ जना प्रतिनिधि चयन हुँदा पार्टीका जिल्ला अध्यक्ष पोखरेल पराजित भएका छन् । ओली इतर पक्षमा लाग्दा अध्यक्ष नै प्रतिनिधि हुन पाएनन् ।
नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदा संस्थापनपक्ष र संस्थापनइतर पक्षबीचको ध्रुवीकरण सामान्य रूपमा होइन, कुटाकुट हुँदा अस्पताल पुग्नेदेखि मतपेटिकासम्म लुकाइएका घटना सार्वजनिक भएका छन् ।
तनहुँको क्षेत्र नं. १ मा मतदानमा कुटपिट हुँदा मतपेटिका नै गायब बनाएको घटना सार्वजनिक भएको छ ।
१३ मंसिरमा नै क्षेत्र नं. १ को मतगणना अनिश्चित समयका लागि स्थगित भएको सूचना सार्वजनिक गरिएको छ । ओखलढुंगामा सबै सबै प्रतिनिधि वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षका विजयी भएका छन् ।
ओखलढुंगाबाट १२ जना प्रतिनिधि चयन भएका छन् । १२ जना प्रतिनिधि पोखरेलपक्षका छन् । पोखरेलको जन्मठाउँ ओखलढुंगा हो । जिल्लामा उनी पक्षका नेताहरू बहुमत भएकाले प्रतिनिधि पनि उनीनिकट नै आएको बताइएको छ ।
उता धनकुटामा निर्वाचन भए पनि विवाद भएको छ । धनकुटामा विवाद हुँदा मतपत्र च्यातिएको छ ।
एमालेको कोशी प्रदेशमा धनकुटा, खोटाङ र ओखलढुंगाबाहेक सबै जिल्लामा प्रतिनिधि चएन भइसकेका प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए । उनले भने, ‘कोशीका तीन जिल्लाबाहेक सबै जिल्लामा महाधिवेशन प्रतिनिधि चएन भएका छन् । धनकुटा र ओखलढुंगामा विवाद भएको र निवेदन आएकाले स्थगित भएको छ । खोटाङमा आज पनि सर्वसम्मतको प्रयास जारी छ ।’
कोशी प्रदेशमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको गृह जिल्ला पनि हुन् । अध्यक्ष ओलीको गृहजिल्ला झापाबाट ओली पक्षका प्रतिनिधिको वर्चस्व रहँदा पोखरेल पक्षका नेता विनोद ढकालले मोरङमा आफ्नो पक्षमा वर्चस्व हुने गरी प्रतिनिधि चयन गरेका छन् ।
मोरङमा ओलीपक्षका परशुराम बस्नेतलाई पोखरेलपक्षका नेता कार्यकर्ताले हातपात गरेका थिए । मधेशमा पनि सचिव रघुवीर महासेठको पक्षमा बहुमत प्रतिनिधि चयन भएका छन् ।
बागमती प्रदेशका जिल्लाहरूमा शान्तिपूर्ण रूपमा प्रतिनिधि चयन भएको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले बताए । उनले भने, ‘हाम्रो प्रदेशमा भएका जिल्लाहरूमा शान्तिपूर्ण र भद्र तरिकाले प्रतिनिधि चयन भएका छन् ।’
गडण्की प्रदेशमा केन्द्रको भन्दा प्रदेशको गुट बढी प्रभावशाली रहेको छ ।
गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटको टक्कर छ । केन्द्रमा दुवै नेता एउटै पक्षमा भए पनि प्रदेशमा गुटगुटको लडाइँ प्रतिनिधि छनोटमा पनि देखिएको तर नेताहरू सबै अध्यक्ष ओली र सबै पृथ्वीसुब्बा र खगराजको पक्षका प्रतिनिधि आएको बताउँछन् । गण्डकी प्रदेशका एक नेताले भने, ‘प्रदेशमा प्रतिनिधि सर्वसम्मत र निर्वाचनबाट चयन भएका छन् । अधिकांश प्रतिनिधि संस्थापनका छन् । प्रदेशको समीकरणमा पृथ्वीसुब्बा महासचिव र खगराज उपमहासचिव उठ्दा दुवैलाई जिताउन लाग्छौँ ।’
तनहुँमा विवाद हुँदा अहिलेसम्म प्रतिनिधिको टुंगो लागेको छैन ।
गुरुङ अहिले पनि ओली टिमबाट महासचिवका लागि आन्तरिक रूपमा समीकरण मिलाउन थालेको उनीनिकट नेताहरू बताउँछन्, जसका कारण गुरुङले प्रदेशमा पनि सबैलाई मिलाउने तरिकाले भूमिका खेलेको गण्डकीका नेता बताउँछन् । ओलीपक्षमा नै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली महासचिवको तयारीमा छन् । दुवै जनाले दाबी नछोडेमा तेस्रो व्यक्ति गुरुङ महासचिवमा पुग्ने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् ।
कास्कीमा सर्वसम्मतको प्रयास गरिएको भए पनि पृथ्वीसुब्बा र खगराज गुटको प्रतिष्ठाको लडाइँका कारण आइतबार राति सर्वसम्मतिको नाममा निर्वाचन नै नगराएर जबर्जस्ती प्रतिनिधि चयन गरेको आरोप जिल्लाका नेताहरूले लगाएका छन् ।
अर्घाखाँचीमा संस्थापनपक्षका एकलौटी निर्वाचित भएका छन् । गुल्मीमा पनि सहमतिमा प्रतिनिधि चयन भए पनि संस्थापन बहुमत चयन गरेको भन्दै विवाद भएको छ । जिल्लाको पार्टी सचिवमा धर्म विश्वकर्मालाई पनि सर्वसम्मत चयन गरेनन् ।
ओलीपक्षको भए पनि जिल्लाको राजनीतिले धेरै कुरा फरक पारेको गुल्मीका एक नेता बताउँछन् । सल्यानमा महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद चुलिएको छ । एउटा समूहले विधि र प्रक्रिया मिचेर होटेलको बन्द कोठाबाट एकलौटी ढंगले प्रतिनिधि छनोट गरेको आरोप लागेको छ ।
एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहको गृह जिल्ला हो । अध्यक्ष शाहले नै गृह जिल्लामा आफू निकट व्यक्तिहरूलाई मात्रै अगाडि सारेको आरोप लगोको छ । सल्यानले ८ जना महाधिवेशन प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको थियो । तर होटलमा प्रतिनिधि चयन भएको भन्दै विवाद बढेको छ ।
लुम्बिनी एमालेका अधिकांश पदाधिकारीको प्रदेश हो । उपाध्यक्ष विष्णु पौडेल , उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा छन् । यहाँ पनि सर्वसम्मत भएको ठाउँमा पनि पार्टी सदस्यहरूले आफूअनुकूल प्रतिनिधि चयन गरेको आरोप लगाएका छन् । निर्वाचन भएको ठाउँमा संस्थापन पक्षको नै वर्चस्व रहेको छ ।





