चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनअन्तर्गत ६ पदाधिकारी चयन गर्न बिहीबार राति सवा नौ बजेदेखि मतदान हुने भएको छ । पाँचौँ पटक संशोधन गरी प्रकाशन गरिएको निर्वाचन कार्यतालिकाअनुसार मतदान राति सवा ९ देखि सवा १२ सम्म र नतिजा राति १:३० बजे घोषणा गरिनेछ ।
सभापतिमा रवि लामिछाने निर्विरोध भएसँगै अब दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुनेछ । यद्यपि ६ पदका लागि सहमतिको प्रयास समेत भइरहेकाले मतदान नहुने सम्भावना पनि उत्तिकै रहेको छ ।
त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्मलाई तोकिएको छ । त्यस्तै दाबी विरोध ८ बजेलाई राखिएको छ ।
रास्वपाको विधानअनुसार एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन् । ती मध्ये ५१ जना मनोनित गर्ने अधिकार सभापतिलाई दिइएको छ ।





