काठमाडौँ, १४ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम गर्न मधेशकेन्द्रित दलले संयुक्त प्रेस वक्तव्य तथा अपिल जारी गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य राजकुमार शर्माले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
वक्तव्यमा साम्प्रदायिक रूपमा संवेदनशील परिस्थितिमा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रही काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी हस्तक्षेप र दमनका विषयमा उठेका प्रश्नहरूको स्वतन्त्र र पारदर्शी छानबिन हुनुपर्ने माग गरिएको छ।
साथै, उनीहरूले सरकारसमक्ष आठ बुँदे मागसमेत अघि सारेका छन् । मागमा घटनामा मृत्यु भएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन, पीडित परिवारको दीर्घकालीन जीविकोपार्जनको व्यवस्था गर्न, घटनाको स्वतन्त्र न्यायिक अनुसन्धान गर्न तथा प्रहरी र प्रशासनको भूमिकाको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ।
त्यसैगरी घाइतेको निःशुल्क उपचार, आवश्यक राहत, सामाजिक सद्भाव कायम गर्न सर्वदलीय र सर्वपक्षीय संवाद सञ्चालन, पछिल्ला दिनमा मधेशमा भएका तनावपूर्ण घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा सम्पूर्ण घटनाको सत्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न पनि माग गरिएको छ।
वक्तव्यमा सम्पूर्ण नागरिकलाई संयम अपनाउन, अफवाह र घृणाजन्य अभिव्यक्तिबाट टाढा रहन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरिएको छ। साथै सरकारले कुनै पनि प्रकारको पक्षपात नगरी सत्य, न्याय र उत्तरदायित्वका आधारमा पीडितलाई न्याय दिलाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिइएको छ।





