जनकपुरधाम, २० भदौ । राष्ट्रिय मुक्ति पार्टी नेपाल का अध्यक्ष राजेन्द्र महतो ले आदिवासी, जनजाति र मधेसीहरू देशमा अझै पनि राज्यविहीन अवस्थामा बाँच्न बाध्य भएको बताएका छन्।
संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको जागरण सभामा बोल्दै उनले कांग्रेस र एमालेले विभाजनको राजनीति गरेर मधेसी, थारु र आदिवासी जनजातिलाई कमजोर पारेको आरोप लगाए। विभाजनकै कारण ती समुदायहरू अधिकारविहीन र राज्यविहीन बन्न पुगेको महतोको भनाइ छ।
उनले भने, “विगतमा मधेसी, थारु, आदिवासी जनजाति, दलित र पिछडावर्गहरूले छुट्टाछुट्टै सङ्घर्ष गरेका कारण असफल भयौँ। अब अधिकार र पहिचानका लागि मोर्चाबन्दी गरेर मात्र संघर्ष गर्नुपर्छ।”
महतोले २०७२ सालमा संविधान जारी हुँदा पनि मोर्चाबद्ध संघर्षकै कारण आवाज बुलन्द भएको स्मरण गर्दै तत्काल एकीकरण सम्भव नभए पनि मोर्चाभित्रै रहेर सहकार्य गर्नुपर्नेमा जोड दिए।





