जनकपुरधाम, २५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले मङ्गलवार वार्ताका लागि छुट्टाछुट्टै आह्वान गरेपछि आन्दोलनरत जेन जी समूहका प्रतिनिधि तथा सेनाबीच राति लामो छलफल भएको त्यसमा सहभागी युवाहरूले पुष्टि गरेका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा सहभागीमध्ये एक तनुजा पाण्डेले शान्ति पुनर्बहालीदेखि अन्तरिम सरकारसम्मको विषयमा कुराकानी भएको बताइन्।
प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डूस्थित संयोजक पुरुषोत्तम यादवले बताए।
प्रधानसेनापति सिग्देलले जेन जी समूहका मुख्य मागहरूबारे चासो राखेपछि देशभरिका प्रतिनिधि युवाहरूसँग छलफल गरी अर्को बैठकमा बस्ने उनीहरूले बताए।
मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि काठमाण्डू उपत्यका र बाहिर कैयौँ सरकारी कार्यालय र अन्य संरचनामा व्यापक आक्रमण र आगजनी भएको थियो। त्यसपछि राति १० बजे सेनाले शान्ति सुरक्षाको जिम्मेवारी आफूले लिएको छ।





