काठमाडौं , १५ मंसिर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा लामो छलफल र विमर्शपछि एकताबद्ध भएर निर्णयमा पुगेको बताएका छन् । केन्द्रीय समितिको डेढ महिनासम्म चलेको बैठकपछि सोमबार १५औँ महाधिवेशनको कार्यतालिकाको घोषणा गर्दै खड्काले सबै नेताबीचको छलफलमा एउटा टुंगोमा पुगेको बताएका हुन् ।
आगामी २६ देखि २८ पुससम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्दै खड्काले नेताको एकताले यो सम्भव भएको प्रस्ट्याए ।
‘पार्टीको १५औँ महाधिवेशनलाई एकताबद्ध भएर कसरी अगाडि बढाउने भन्ने विषयमा श्रद्धेय सभापति शेरबहादुर देउवाज्यूको पटक–पटकको निर्देशन र सुझाव रह्यो । हामीले पार्टी कार्यालयभन्दा बाहिर गरेका बैठकहरू, विभिन्न स्वरूपमा गरेका बैठकहरू, छलफलहरू ती सबै कसरी बाहिर प्रचारित भए रु,’ खड्काले भनेका छन्, ‘त्यसको व्याख्या पनि त्यस्तै हिसाबले भए । तर, सबै प्रयत्नहरू नेपाली कांग्रेसलाई एकताबद्ध राख्न र अहिले मुलुकको प्रतिकूल अवस्था र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थामा एकताबद्ध भएर निर्णय गर्नका लागि सवल छ, सक्षम छ, दृढ छ भन्नेमा हामीले देखाउन सकेका छौँ ।’
प्रतिकूल स्वास्थ्यका बाबजुद विदेशमा उपचार गराएर आएपछि पनि सभापतिले नेताबीच सौहार्दपूर्ण छलफल गरेर टुंगोमा पुर्याएको उनको भनाइ छ ।
विगतका अग्रजहरू बीपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईज्यू, तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाज्यू र त्यसपछि मुलुकको संविधान कार्यान्वयनमा महत्त्वपूर्ण निर्णय गर्नमा सभापति देउवाको भूमिका रहेको उनले बताए । सबैको भूमिकालाई अग्रस्थानमा राख्दै कांग्रेस निर्णयमा पुगेको उनको भनाइ छ ।
विभिन्न प्रकृतिका बैठकका तरिका, विमर्श फरक रहे पनि उद्देश्य समान रहेको उनको भनाइ छ । ‘बैठकका तरिकाहरू फरक–फरक रहे होलान् । तर, ती सबैको उद्देश्य पार्टीको त्यो मूलभूत उद्देश्य प्राप्तिका लागि, पार्टीलाई एकताबद्ध राखेर निर्णयमा पुग्नका लागि, अहिलेको मुलुकको प्रतिकूल अवस्थाको नेतृत्व गर्न सक्ने क्षमता प्रस्तुत गर्नका लागि, यो एउटा अठोटमा पुग्नका लागि, निष्कर्षमा पुग्नका लागि ती सबै महत्त्वपूर्ण थिए,’ खड्काले भनेका छन्, ‘अत्यन्त जिम्मेवारीपूर्वक भएका सबै छलफलहरू थिए । त्यो कुरालाई म नेपाली कांग्रेसको आजको बैठकको सभापतित्व गर्नुभएको कार्यवाहक सभापतिज्यूमार्फत ती सबै छलफलप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु । सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।’
समग्र केन्द्रीय समितिको एकाग्र निष्कर्षबाट कांग्रेस निर्णयमा पुगेको उनको भनाइ छ । ‘आज हामी यही महत्त्वपूर्ण निर्णयहरू गर्दै छौँ । यस क्रममा जति पनि छलफलहरू भए, पार्टी केन्द्रीय समितिको बैठकमा जति पनि धारणाहरू आए,’ खड्काले भनेका छन्, ‘जति पनि विषयहरू प्रवेश गरे, ती सबैलाई एकाकार गर्दै, ती सबैको अपनत्व लिँदै, ती सबैलाई जोड्दै आज म केन्द्रीय समितिको तर्फबाट श्रद्धेय सभापतिज्यूको निर्देशन र सुझावलाई केन्द्रमा राखेर म केही विषयहरू बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै छु ।’
यसअघि ६ मंसिरमा राष्ट्रिय राजनीतिबारे सर्वसम्मत निर्णय गरेर कांग्रेसले सकारात्मक सन्देश दिएको उनको भनाइ छ । ‘हामीले गएको ६ मंसिरको बैठकमा मुलुकको राष्ट्रिय राजनीतिसँग जोडिएको, मुलुकको २१ फागुनका लागि घोषणा भएको प्रतिनिधिसभाको निर्वाचनसँग जोडिएको विषय, समसामयिक राजनीतिक विषयका बारेमा केन्द्रीय समितिको व्यापक छलफलपश्चात् सर्वसम्मतिले सबै प्रस्तावहरूलाई पारित गर्ने निर्णय गर्यौँ,’ खड्काले भने ।





