भागचरण यादव
जनकपुरधाम १९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला कार्यसमितिको आयोजनामा देशको विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि शान्तिपूर्ण धर्ना प्रदर्शन सुरु गरिएको छ। धर्नामा पार्टीका नेता, कार्यकर्ता, किसान, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

धर्ना कार्यक्रममा सहभागीहरूले संविधान संशोधनदेखि किसानका समस्या, युवा रोजगारी तथा राजनीतिक नियुक्तिमा भागबन्डाको अन्त्यलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्ड तथा ब्यानरमार्फत आफ्ना मागहरू उठाउँदै सरकारसँग तत्काल सम्बोधनको माग गरेका छन्।

जसपा नेपालले अघि सारेका प्रमुख १० बुँदे मागहरू यस प्रकार रहेका छन्—
१. संविधान संशोधन तथा पुनर्लेखन गरियोस्।
२. जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरियोस्।
३. स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकारभित्र कायम गरियोस्।
४. जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गरियोस्।
५. किसानहरूलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराइयोस्।
६. प्रदेशका लागि प्रहरी र कर्मचारी समायोजन प्रक्रिया अविलम्ब लागू गरियोस्।
७. नेपाल सरकारले गर्ने राजनीतिक नियुक्तिहरूमा भागबन्डाको अन्त्य गरियोस्।,
८. उखु किसानहरूको बाँकी भ्याट रकम ३५ प्रतिशत तत्काल भुक्तानी गरियोस्।
९. मल–खादको सहज र पर्याप्त व्यवस्था गरियोस्।
१०. जेन–जी युवाहरूका जायज मागहरू पूरा गरियोस्।

धर्ना स्थलमा बोल्दै जसपा नेपाल धनुषाका नेताहरूले वर्तमान व्यवस्थाले आम जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै मागहरू पूरा नभएसम्म आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाइने चेतावनी दिएका छन्। उनीहरूले यो आन्दोलन कुनै दलविरुद्ध नभई जनताको हक र अधिकारको पक्षमा भएको स्पष्ट पारे।

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको र सुरक्षाको दृष्टिले प्रशासनको उपस्थिति रहेको थियो। धर्नामा सहभागीहरूले सरकार जनमुखी नबने आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !