जनकपुरधाम, ४ पुस । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ मा अवस्थित श्री वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको नयाँ विद्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरिएको छ।

नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत सम्पन्न उक्त परियोजनाको उद्घाटन भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवसँग संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार सुदृढ भई पठनपाठनको वातावरण थप सहज, सुरक्षित तथा गुणस्तरीय हुने विश्वास व्यक्त गरे।

भारत सरकारको आर्थिक अनुदानमा निर्माण गरिएको उक्त भवनले यस क्षेत्रका विद्यार्थीलाई सुविधासम्पन्न तथा अध्ययनमैत्री वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै यस परियोजनाले नेपाल–भारतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र विकास सहयोगलाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।

स्थानीयवासीहरूले विद्यालयको भौतिक संरचनाको अभावका कारण पठनपाठनमा आइरहेका समस्या अब अन्त्य हुने आशा व्यक्त गर्दै परियोजनाप्रति खुसी जनाएका छन्। उद्घाटनसँगै विद्यालयले शैक्षिक गतिविधि विस्तार गर्ने तयारीसमेत थालेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !