मोरङ, १५ साउन । सुनसरीमा प्रहरीको गाली लागेर मृत्यु भएका जयप्रकाश मेहता र ओमप्रकाश मेहताको शव परिवारजनले बुझेका छन् ।

देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा प्रहरी चलाएको गोली लागेर मृत्यु भएका उनीहरूको शव घटनाको पाँच दिनपछि परिवारजनले बुझेका हुन् ।

सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएपछि शुक्रबार आफन्तले शव बुझ्न तयार भएका थिए । गत आइतबार राति दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । यो घटनामा गोली लागेर गम्भीर घाइते भएका ६ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । शुक्रबार ज्यान गुमाएका दुवै मृतकका आफन्तले कोशी अस्पतालमा पोष्टमार्टम गरी शवयात्रा गरे ।

पाँच दिनपछि अन्त्यष्टि गर्ने वातावरण बनाउन बिहीबार रातभर गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा छलफल भएको थियो । शुक्रबार बिहान आफन्तसँगको सहमतिमा गृहमन्त्री गुरुङले नै हस्ताक्षर गरे ।

पीडित परिवार र सरकारबीच भएको ७ बुँदे सहमतिमा मृतकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने, मृतकलाई सहिद घोषणा गर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !